पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१३ जेठ, पाँचथर । पाँचथरमा जुनियर खेलकुद प्रतियोगिताका लागि आयोजित बुद्धिचाल खेलाडी छनौट प्रतियोगिताबाट चार खेलाडी छनौट गरिएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजनामा पोखरामा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने लक्ष्यका साथ जिल्ला स्तरबाट खेलाडी छनौट गरिएको हो ।

फिदिममा शुक्रबार र शनिबार सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका १५ वर्ष मुनीका ३२ जना प्रतिस्पर्धी सहभागी थिए । जस अन्तर्गत पुरुषतर्फ ६.५ अंक ल्याएर ब्रिटिस कार्की प्रथम र ६ अंक ल्याई सन्दिप तामाङ द्वितीय भए । महिला तर्फ एन्जिलिना तामाङ २.५ अंकका साथ प्रथम र दृष्टि लिम्बू २ अंक ल्याउदै दोस्रो भए । प्रथम, द्वितीय हुनेलाई नगद तथा प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत पनि गरियो । ब्रिटिस, सन्दिप र एन्जिलिना फिदिम स्थितको विद्यावरदान बोर्डिङ स्कुलका विद्यार्थी हुन दृष्टि फिदिमकै नयाँ नमुना माध्यमिक विद्यालय पढ्दै हुनुहुन्छ ।

चारै जनालाई पोखरामा हुने राष्ट्रिय खेलका लागि हुने प्रदेश स्तरीय छनोट खेलमा सहभागी गराउने गरि छनौट गरिएको पाँचथर बुद्धिचाल संघका अध्यक्ष विजय बोध लावतीले बताए । राष्ट्रिय प्रतियोगितामा पुग्न ब्रिटिस, सन्दिप, दृष्टि र एन्जिलिनाले प्रदेश स्तरीय खेलमा पनि सहभागी भई उत्कृष्ठ हुनु पर्नेछ ।

यहाँ भएको प्रतियोगितामा बुद्धिचाल संघ सचिव नन्दकुमार कुरुम्बाङ, पूर्व अध्यक्ष गजेन्द्र माबो, पूर्व उपाध्यक्ष जयविक्रम चेम्जोङ र शिखर लिम्बूले अर्बिटरको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : ३२ बजे