पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

९ जेठ, पाँचथर । पाँचथर जिल्ला ए डिभिजन लिगको उपाधी पाँचथर युनाईटेड क्लबको पोल्टामा परेको छ । फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धदेवी माविको खेल मैदानमा मंगलबार सम्पन्न फाईनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई हराउँदै पाँचथर युनाईटेडले उपाधी आफ्नो पोल्टामा पारेको हो ।

पाँचथर युनाईटेडले उपाधी हात पार्न फिदिम स्पोटिङ विरुद्ध ४–३ गोलको संघर्षपूर्ण जित निकालेको थियो । उपाधी विजेता पाँचथर युनाईटेडका सुदिप योङयाले ह्याट्रिक गरे भने सुवास लक्समले थप १ गोल गरेका थिए । यसै गरी, लिगको उपविजेता फिदिम स्पोर्टिङकाे तर्फवाट शुक्रराज राईले २ गोल गरेका थिए भने थप १ गोल मनिश क्षेत्रीले गरेका थिए ।

लिग विजेता पाँचथर युनाईटेडले पुरस्कार नगद रु १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र हात पा¥र्यो भने उपविजेतामा सीमित फिदिम स्पोटिङले नगद रु ७ हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । उपाधी विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे सहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

लिगको सेमिफाईनलमा उपाधी विजेता पाँचथर युनाईटेडले तिजोक यूवा क्लबलाई पाखा लगाउँदै फाईनल प्रवेश गरेको थियो भने उपविजेतामा सीमित फिदिम स्पोर्टिङ क्लबले सुम्हात्लुङ यूवा क्बलाई पराजित गर्दै फाईनलमा स्थान बनाएको थियो ।

जिल्लाको लिग विजेता टिमले प्रदेशमा हुने लिगमा सहभागिता जनाउने जिल्ला फुटबल संघका अध्यक्ष गणेश राईले बताए ।

लिगमा ११ क्लबको सहभागिता

पाँचथर जिल्ला ए डिभिजन लिगमा ११ क्लबको सहभागिता रहेको थियो । ११ क्लबलाई समूह ए मा ५ र समूह बी मा ६ गरी दुई समूहमा विभाजन गरी लिग चरणका खेलहरु सञ्चालन गरिएका थिए । समूह ए मा पाँचथर युनाईटेड क्बल, सुम्हात्लुङ यूवा क्लब, सयपत्री क्लब, राईजिङ स्टार क्बल र पल्लोटार यूवा क्बल रहेका थिए । यसै गरी, समूह बी मा फिदिम स्पोर्टिङ क्लब, टु स्टार ग्रामिण सिर्जनशील क्लब, चोत्लुङ क्लब, न्यु पाथिभरा क्बल, तिजोक यूवा क्लब र रानिटार युनाईटेड स्पोर्टिङ क्लब रहेका थिए ।

दुई क्लब रेलिकेसनमा

मंगलबार सम्पन्न भएको पाँचथर जिल्ला ए डिभिजन लिग दुई क्लब रेलिकेसनमा परेका छन् । रेलिकेसनमा परी बी डिभिजनमा घटुवा हुने दुई क्बलहरु पल्लोटार यूवा क्बल र रानीटार युनाईटेड स्पोर्टिङ क्बल हुन । पल्लोटार समूह ए वाट रेलिकेशनमा परेको हो भने रानीटार युनाईटेड समूह बी वाट रेलिकेसनमा परेको हो । दुवै क्लब लिग चरणको खेलमा अंक तालिकाको पुछारमा रहेका थिए ।

विवादवाट अछुतो रहेन लिग

लामो समयपछि आयोजना गरिएको जिल्ला ए डिभिजन लिग विवादवाट अछुतो रहन सकेन् । समूह बी तर्फ लिग चरणको खेलमा चोत्लुङ क्बल र तिजोक यूवा क्बलबीचको खेलमा खेलाडीहरुबीच विवाद भयो । रेफ्रिको निर्णयमा असन्तुष्टि जनाउँदै चोत्लुङ क्बलका खेलाडीरुले पूरा समय नखेली खेल छाडेका थिए । यस अघि कुम्मायकमा आयोजित प्रतियोगितामा समेत खेलाडीहरुबीच हात हालाहालको स्थिति भएको थियो । खेलाडीहरुमा अनुशासन पालना नगरेको र रेफ्रिहरुको निर्णयमा समेत प्रश्न गर्ने ठाउँ प्रसस्त देखिएको खेल पत्रकार दिपक बोहोराले बताए । हरेक विवादमा नियमनकारी निकाय मौन बस्दा खेलकुद क्षेत्रमा अनुशासनको पालना नभएको उनले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १० : ३८ बजे