पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । रानीटार गोल्डकपको उपाधि तमाखे फुटबल क्बलकोे पोल्टामा परेको छ । फिदिम ७ स्थित रानीटार माविको खेलमैदानमा बुधबार सम्पन्न फाईनल खेलमा डिएफसि रानीटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै तमाखेले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

दर्शकले भरिभराउ फाईनल खेलको १८ औँ मिनेटमा तमाखेले अग्रता लिएको थियो । खमाखेका खेमराज गुरुङले गोल गर्दै टिमलाई १–० अग्रता दिलाए । डिएफसी सम्हालिन नपाउँदै रोशन गुरुङले २१ औँ मिनेटमा थप गोल गर्दै तमाखेलाई २–० को स्थितिमा पुर्‍याए । दोस्रो हाफको छैटौं मिनेटमा डिएफसीका आदर्श गुरुङले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । खेलको अतिरिक्त समयमा तमाखेका लुुम्माहिम लिम्बुले गोल थपेर जित सुनिश्चित गरे ।

प्रतियोगिताको विजेता टिमले ७० हजार १ सय रुपैँया नगद, ट्रफि र मेडल हात पारेको छ भने उपविजेताले ४० हजार १ सय रुपैँया नगद, ट्रफि र मेडलमा चित्त बुझाएको छ । फाईनल खेलको म्यान अफ दि म्याच सुरेश गुरुङ चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तमाखेका अतित आङ्बो, वेस्ट डिफेन्डर आदर्श गुरुङ, उत्कृष्ट गोलकिपर रुपेश गुरुङ घोषित भए ।

प्रतियोगितामा विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट छनोट भएका खेलाडीहरुलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, नेपाली कांग्रेस पाँचथरका निर्वतमान सभापति नरेन्द्रकुमार केरुङ, फिदिम–८ वार्ड अध्यक्ष सोम गुरुङ, फिदिम–७ का वार्ड अध्यक्ष रुपेन्द्र तामाङ लगायतका अतिथिहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

त्रिवेणी यूवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा गत शनिबारवाट सुरु भएको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष ललीत लिम्बूले बताउनु भयो । फिदिम नगरपालिका ७ नंं. वडाको आर्थिक सहयोगमा प्रतियोगिता अयोजना गरिएको उहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ११ : ४२ बजे