पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

फिदिम । दशमी मेला फुटबल प्रतियोगिताको उपाधि सुकेटार फुटबल क्लबले चुमेको छ । फिदिम १३ जेभाले स्थित खेल मैदानमा आईतबार सम्पन्न फाईनल खेलमा फालेलुङ ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सुकेटारले उपाधि हात पारेको हो ।
सुकेटारका लागि दिनेश शेर्माले दुई गोल गरे भने प्रकाश राईले थप अर्को गोल गरे । फालेलुका बिवेक राईले आत्मघाती गोल गरेपछि सुकेटार फराकिलो गोल अन्तरमा जित निकाल्न सफल भयो । खेलको पहिलो हाफमा दुई गोल गरेको सुकेटारले दोस्रो हाफमा थप दुई गोल गरेको हो । फालेलुङका लागि दिल लिम्बूले सान्तवना गोल गरे । पहिलो हाफमा एक गोल फर्काएको फालेलुङले थप गोल गर्न नसक्दा उपबिजेतामा सीमित बन्न पुग्यो ।
प्रतियोगिताको विजेता टिमले पुरस्कार रु। १ लाख ३१ हजार नगद, ट्रफि मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले रु। ७५ हजार नगद, ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझाए । मेलाको समापन समारोहका प्रमुख अतिथि प्रदेश सांसद तथा पूर्वमन्त्री माननीय कमलप्रसाद जवेगु, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, नेपाली कांग्रेसका सभापति रुपनारायण जवेगु, निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ लगायतका अतिथिहरुले विजेता तथा उपविजेता टिमलाई पुरस्कार हस्तान्तरण गर्नु भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वाईसीएलका निर्देश राई बने । सुकेटारका बिवेक मगर उत्कृष्ट गोलकिपर र सुकेटारकै रोशन आङ्देम्बे उत्कृष्ट डिफेन्डरको रुपमा पुरस्कृत बने । आयोजक टीमका युनस राई प्रतियोगिताको उदयमान खेलाडीको रुपमा पुरस्कृत बने ।

महिला तर्फको उपाधि रानिटार युनाईटेडलाई
दशमी मेलाको अवसरमा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि रानीटार युनाईटेड क्लबले हात पारेको छ । फिदिम १३ स्थित जेभालेमा आईतबार सम्पन्न फाईनल खेलमा आयोजक जेभालेलाई पराजित गर्दै रानीटारले उपाधि हात पारेको हो ।
प्रतियोगिताको विजेता टिमले पुरस्कार रु। ६१ हजार नगद, ट्रफि मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले रु। ३६ हजार नगद, ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझाए ।
चिठ्ठाका विजेताहरुलाई पुरस्कार हस्तान्तरण
मेलाको अवसरमा सञ्चालन गरिएको भाग्यशाली उपहार चिठ्ठाका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ ।
चिठ्ठाको प्रथम पुरस्कार वापत राखिएको १५० सिसिको पल्सर मोटरसाईकल फिदिम १३ की पवित्रा राईले प्राप्त गरिन । यसैगरी दोस्रो पुरस्कार फिदिम १ का गौरव लामाले ३२ इञ्चको एलईडी टिभि प्राप्त गरे । चिठ्ठामा पाँच जनाले मोबाईल पुरस्कार प्राप्त गरे । मोबाईल पुरस्कार प्राप्त गर्नेमा गिरिराज बाँस्कोटा, गौतम जवेगु, अञ्जु लिम्बू, सुसन राई र फोर एस ग्रुपले हात पारे ।
दशमी मेलाका रुपमा नौ दिनसम्म विविध कार्यक्रम सहित मेला सञ्चालन भएको थियो । पर्यटन प्रर्वद्धन गर्नका साथै यूवालाई लागूपदार्थ दुव्र्यसनवाट टाढा राख्न फुटबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, भाग्यशाली उपहार चिठ्ठा लगायतका कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सल्लाहकार गजेन्द्र राईले बताउनु भयो । मेलाकै दौरान चर्चित कलाकार आस्था राउत र मेलिना चौहान सहित स्थानीय कलाकारहरुले गीत संगीतका माध्यमवाट मनोरञ्जन दिलाएका थिए ।
तस्विरः गजेन्द्र राई

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : २५ बजे