पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा


त्रिकोणात्मक टि २० आई सिरिजको उपाधि यूएईको पोल्टामा फिदिम । काठमाण्डौं स्थित किर्तिपुर टियू मैदानमा सम्पन्न फाइनल खेलमा घरेलु टोली नेपाललाई ४ विकेटले हराउँदै उपाधि यूएईले जितेको छ ।
जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर मोहम्मद वासिम र अर्याश शर्माले ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै युएईलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । २६ बलमा २ चौकासहित २५ रन बनाएका शर्मा कुशल मल्लको बलमा सन्दीप जोराबाट क्याच आउट भएका थिए । आसिफ खान गुलशन झाको ११ औं ओभरको पाँचौं बलमा थर्डमा अभिनाश बोहराबाट ७ रनमा क्याच गराए । एलिशान शराफु १३ बलमा २ चौकासहित १३ रनमा आउट भए । उनी अभिनाश बोहराको १५ औं ओभरको तेस्रो बलमा लङअनमा कुशल भुर्तेलबाट क्याच आउट भए । १६ औं ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले वृत्य अरविन्दलाई २५ रनमा डाइरेक्ट थ्रोमा रन आउट गरेपछि नेपालको जितको सम्भावना थियो । बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भए ।
नेपालका अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेलले टि२० आई करिअरको छैटौं अर्धशतक प्रहार गर्ने क्रममा २९ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गर्दै युएईलाई पहिलो सफलता दिलाएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई १ रनमा बोल्ड आउट गरे ।
तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने क्रममा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए ।
रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । जहुर खानको १६ औं ओभरको पहिलो बलमा सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे ।
करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राखेपछि नेपाल सम्मानजनक स्कोर बनाउन चुकेको थियो । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि मध्यम स्कोरमा समेटिएको थियो ।
युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो । यूएईले भने हङकङलाई मात्र जितेको थियो । यूएई र हङकङको समान अंक भए पनि रनरेटका आधारमा यूएई फाईनल पुगेको थियो ।
केसी सर्वाेत्कृष्ट खेलाडी, हामिद उत्कृष्ट ब्याटर
नेपालका अलराउन्डर करण केसी त्रिकोणात्मक टि २० आई सिरिजमा सर्वाेत्कृष्ट खेलाडी चुनिए । करणले ५ खेलमा १० विकेट लिएका थिए । त्यस्तै सिरिजको उत्कृष्ट बलर पनि उनी नै चुनिएका छन् ।
युएईका बासिल हामिद उत्कृष्ट ब्याटर चुनिए । बासिलले ५ खेलमा कुल १ सय ५९ रन बनाएका थिए । फाइनलमा नेपाललाई हराउन उनले १६ बलमा २ छक्कासहित कुल २२ रन बनाएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ०६ बजे