नारायण तुम्बापो
फिदिम । वर्तमान युवा माझमा लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकबाट लिम्बू युवक युवतिले आफ्नो संस्कृति प्रवर्द्धन गरिरहेका छन् । विशेषगरि लिम्बू युवतिहरुले प्रचार–प्रसार हुनेगरि टिकटकबाट रोमान्चकले आफ्नो संस्कृति देखाउने, सुनाउने, गाउने, सिकाउने काम गरिहेका छन् ।
यसरी बनाइने टिकटक भिडीयोले लोपन्मुख लिम्बू मौलिक संस्कृति प्रवर्द्धनका साथै संरक्षणमा सहयोग पुग्ने युवाको विश्वास छ । हाङ्जाम, मेख्ली, सुन फूल, सिरबन्दी, कण्ठ, रेजी, जन्तर, सिलामसाक्मा जस्ता लिम्बू मौलिक पहिरन तथा गहनामा सजिएर टिकटक खिचिन्छ । टिकटक लिम्बू भाषाकै गीत, सङ्गीत, कला, साहित्य, फिल्मी सम्बादको ताल लयमा बाधिएर बनाइने गरेको छ । यसबाट लिम्बू मातृभाषा, लिपीे संरक्षणमा समेत टेवा पुगिरहेको छ । ‘टिकटक एप’ले पन्ध्रदेखि साठी सेकेन्डको फूटेज (भिडीयो दृष्य) खिच्न अनुमति दिन्छ । यसबाट मनपर्ने गीतहरुमा ‘लिप सिङ्ग’, मूर्ख नृत्य र हास्यास्पद सहितको मनोरञ्जक भिडीयो बनाउन सकिन्छ । यस्तै भिडीयो बनाउने क्रममा कतिपयले उस्सृङ्खल र अष्लिलता पस्कदा उनीहरु धेरै आलोचित हुने गरेका छन् । यस विपरित लिम्बू युवाले संस्कृति संरक्षण हुनेगरि टिकटक बनाइदिदा आफ्नो समुदायबाट धेरै प्रशंसा पाइरहेका छन् ।
लिम्बू मौलिक संस्कृति प्रधान टिकटकले बढि ’भ्यूअर्स’ पाउने यसका प्रयोगकर्ता फिदिमकी बेविला नेम्बाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘अरु तरिकाले बनाइने टिकटकले चार÷पाँच हजार मात्रै दर्शक आकर्षित गर्छ । संस्कृतिसंग जोडिएको टिकटक डेडलाख देखि पाँच लाखसम्मले हेर्ने गरेका छन् ।’ धेरै दर्शकको माया भेटिने लोभले गैर लिम्बूले पनि लिम्बू संस्कृतिमा आधारित टिकटक बनाउने गरेका छन् । यस खालका टिकटक भिडीयो स्वादेशका साथै विदेशमा रहेकाले पनि बनाउने गरेको पाइन्छ । संस्कृतिमूलक टिकटकले धेरै लोकप्रिय बनाई दिने अनुभव फिदिमकी अर्का टिकटकप्रेमी मोडल एलिना नेम्बाङको भनाइ छ । भिडीयोको रुपमा बन्ने संस्कृतिजन्य टिकटक ’फूटेज’ अभिलेखका लागि दर्विलो दृश्य सामग्री उत्पादन हुनमा पनि सघाउ पुग्छ । यस प्रकारको सामुदायिक योगदान पुग्नेगरि आफूले पनि टिकटक बनाउने गरेको हाल हङ्कङ रहनु भएकी पाँचथरकी मोडल तथा नायिका सुक्मिता केरुङ लिम्बूले सुनाईन ।
केहि समय अघिसम्म आधुनिकतामा अलमलिएका युवा उपेक्षाले लिम्बू संस्कृति संरक्षणमा असहयोग पुगीरहेको अग्रजको गुनासो थियो । पछिल्लो समय उनै युवा आफ्नो भाषा संस्कृतिप्रति धेरै चिन्तित हुन थालेको पाइन्छ । उनिहरु टिकटकमा जस्तै संस्कृतिसंग जोडिएर फेसबुक, युट्यूव जस्ता अरु समाजिक सञ्जाल पनि सक्रिय हुने गरेका छन् । विभिन्न मञ्चमा संस्कृति प्रधान प्रस्तुति, छलफल, बहसका सन्दर्भ राख्न पनि अग्रसर हुने गरेका छन् । कला, भाषा, संस्कृति विहीनताले आफ्नो पहिचान नामेट हुने बोध हुन थालेसंगै लिम्बू युवा साँस्कृतिक जागरण अभियानमै केन्द्रित भएका छन् । यहि सिलसिलामा आफ्नो संस्कृति, पहिचान रक्षार्थ सरकारसंग आन्दोलित पनि हुने गरेका छन् । यसको पछिल्लो उदाहरणको रुपमा कोशी प्रदेशको नामाकरण विरुद्ध भइरहेको आन्दोलनलाई जोड्न सकिन्छ । प्रदेशको नाम पहिचानको आधारमा हुनु पर्ने मागका साथ भइरहेको उक्त आन्दोलनमा बहुल लिम्बू युवा सम्मिलित छन् ।
प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार ९ : ३७ बजे
प्रतिक्रिया