पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । संविधासभाका अध्यक्ष, पूर्वसभामुख, नेकपा ९एमाले०का उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तारुढ पाँच दलीय गठबन्धनले देशलाई लथालिङ्ग बनाएको दावि गरेका छन । यो गठबन्धन ब्यक्तिगत स्वार्थ पूरा गर्न बनेको हो । एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्न नसकिने भएपछि मुलुकको हित नचाहने शक्तिहरुले गठबन्धन गरेर देशलाई लथालिङ्ग बनाएको नेम्वाङको भनाई छ ।
प्रेस चौतारी नेपाल पाँचथर शाखाले आज मंगलबार विहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले गठबन्धनका क्रियाकलाप संविधान, कानून र परम्पराको विरुद्धमा भईरहरेका छन, गठबन्धन कायम राखेर सबै कुरा लथालिङ्ग र भताभुङ्ग बनाउदै देशलाई बर्बादीमा लाने काम भईरहेको उनले दावि गरेका हुन ।
मिश्रित निर्वाचन प्रणालीमा गठबन्धन र तालमेल स्वभाविक हुने भएपनि संसदीय प्रणालीमा गठबन्धन लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएर मात्रै हुनसक्ने नेम्वाङको भनाई छ । उनले भने, “हामी निर्वाचनको तयारीमा छौँ । गठबन्धनको काम र ब्यवहारले जनताले हामीलाई आशिर्वाद दिन्छन् भन्ने हाम्रो विश्वास छ । एमाले एक्लै निर्वाचनमा जान्छ । हामी विचार मिल्ने दलहरुसँग पनि मिलेर अघि बढ्छौँ । जनताले ठिक न्याय गर्दा देश ठिक ठाउँमा जान्छ ।”
नेम्बाङले एमाले सबैभन्दा ठूलो शक्ति भएकोले एमालेसँग डराएर अहिलेको गठबन्धन बनेको बताए । “काँग्रेस र माओवादी केन्द्रका नेताले एक्लाएक्लै चुनावमा गए एमालेसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्नुभएको हामीले विर्सन हुँदैन् ।”
सर्वोच्च अदालत कार्यवाहक प्रधानन्यायाधीशको नेतृत्वमा चल्नुपर्ने, संसद्ले जनताका काम गर्न नसक्ने, सरकारले परिणामुखी काम गर्न नसक्ने अवस्था अन्त्य गरी देशलाई नयाँ दिशा दिन निर्वाचन अन्तिम फैसला हुने उहाँको भनाई छ । नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पास गर्नका लागि नल्याइएको बताए । उनले भने, “महाभियोग समिति फागुन २२ गते गठन भएपनि झण्डै ५ महिना समितिलाई काम दिइएन । उक्त समितिले कार्य आरम्भ गर्नै बाँकी रहेको र तीन महिना उक्त समितिको समय प्रतिवेदन तयार पार्ने अवधि हुन्छ । तर असोज १ गतेबाट संसद् नरहँदा महाभियोगको प्रक्रिया पूरा हुँदैन् ।”
कार्यक्रममा नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले मुलुकको अर्थतन्त्र सङ्कटतर्फ गइरहँदा सरकार गैरजिम्मेवार बनेको बताए । महङ्गी नियन्त्रणबाहिर जानु, विदेशी मुद्रा संचिती घट्दै जानु, आयात बढ्दै जानु गम्भीर अवस्थाका संकेत रहेको उनको भनाई छ ।
कार्यक्रममा नेकपा ९एमाले०का केन्द्री सदस्य एवं जिल्ला सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य आशारत्न जबेगू लगायत नेताहरुको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : ३८ बजे